तराई र उपत्यकामा तुँवालो, उच्च हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं — हाल तराई भूभाग तथा देशका विभिन्न उपत्यकामा तुँवालो लागेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेशसहित उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा मध्याह्नसम्म कुहिरो लाग्ने सम्भावना रहेको छ। तराई क्षेत्रको मौसम मुख्यतया सफा रहने जनाइएको छ।

महाशाखाका अनुसार देशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने बाँकी पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

यसैगरी, आज राति तराई भूभागका केही स्थानमा तुँवालो लागिरहने अनुमान गरिएको छ। रातिको समयमा देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा राति पनि हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

हाल नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *