- माघ २६, २०८२
- No Comment
- 10
नाति–नातिनासँग खेल्दा तेज हुन्छ वृद्धवृद्धाको दिमाग
काठमाडौँ । बदलिँदो जीवनशैली, एकल परिवारको बढ्दो प्रवृत्ति र प्रविधिमा निर्भरता बढेसँगै वृद्धवृद्धामा एक्लोपनको समस्या गहिरिँदै गएको छ। यस्तो अवस्थामा परिवारभित्र सक्रिय सहभागिता, विशेषगरी नाति–नातिनासँग समय बिताउँदा वृद्धवृद्धाको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने एक अध्ययनले देखाएको छ।
हालै सार्वजनिक भएको एक वैज्ञानिक अनुसन्धानका अनुसार नाति–नातिनाको हेरचाह गर्ने वृद्धवृद्धाको स्मरणशक्ति र मौखिक क्षमता तुलनात्मक रूपमा राम्रो पाइएको छ। बच्चाहरूसँगको नियमित अन्तरक्रियाले वृद्धहरूको दिमाग सक्रिय राख्न मद्दत गर्ने र बुढेसकालमा देखिने मानसिक क्षमताको गिरावटलाई सुस्त बनाउने अध्ययनको निष्कर्ष छ।
फ्लाभिया चेरेचेसको मुख्य लेखन रहेको उक्त अध्ययन प्रतिष्ठित अन्तर्राष्ट्रिय जर्नल साइकोलोजी एण्ड एजिङ मा प्रकाशित भएको हो। अध्ययनमा ५० वर्षभन्दा माथिका २ हजार ८८७ हजुरबा–हजुरआमालाई समावेश गरिएको थियो, जसको औसत उमेर करिब ६७ वर्ष रहेको थियो। अनुसन्धानकर्ताहरूले सन् २०१६ देखि २०२२ सम्म संकलित तथ्यांक र विभिन्न मानसिक परीक्षणको विश्लेषण गरेका थिए।
अनुसन्धानका क्रममा स्मृति, भाषा प्रयोग र मौखिक सीपजस्ता पक्षमा विशेष ध्यान दिइएको थियो। नतिजाअनुसार नाति–नातिनाको हेरचाह गर्ने वृद्धवृद्धाले यी सबै परीक्षणमा राम्रो प्रदर्शन गरेका थिए। बालबालिकाको हेरचाहमा संलग्न नभएका वृद्धवृद्धाको मानसिक क्षमता भने तुलनात्मक रूपमा कमजोर देखिएको अध्ययनले जनाएको छ।
अध्ययनको अर्को महत्वपूर्ण पक्ष के देखिएको छ भने मानसिक लाभ हेरचाहको आवृत्तिमा निर्भर थिएन। दैनिक वा कहिलेकाहीँ—जसरी भए पनि बालबालिकासँग खेल्ने, पढाउने वा सामान्य निगरानीमा संलग्न हुँदा मानसिक फाइदा लगभग समान रहेको पाइएको छ। मुख्य कुरा सक्रिय भूमिकामा सहभागिता रहेको अनुसन्धानकर्ताहरूले बताएका छन्।
अनुसन्धानकर्ताहरूका अनुसार बच्चाहरूसँग संवाद, उनीहरूको जिज्ञासाको जवाफ, कथा सुनाउने र खेलकुदजस्ता गतिविधिले वृद्धहरूको सोच्ने क्षमता, प्रतिक्रिया र भाषिक प्रयोगलाई सक्रिय बनाइराख्छ। यसका साथै नाति–नातिनाको हेरचाहले वृद्धवृद्धामा उद्देश्य र जिम्मेवारीको भावना जागृत गराउने, एक्लोपन कम गर्ने र सामाजिक सम्बन्ध मजबुत बनाउने पनि अध्ययनले देखाएको छ।
विशेषज्ञहरूका अनुसार उमेरसँगै मानसिक क्षमतामा केही ह्रास आउनु स्वाभाविक भए पनि सक्रिय जीवनशैली र पारिवारिक सहभागिताले यसको असर उल्लेखनीय रूपमा कम गर्न सकिन्छ। परिवारभित्र नयाँ पुस्तासँगको सम्बन्ध वृद्धवृद्धाका लागि मानसिक र भावनात्मक रूपमा लाभदायक हुने अध्ययनले स्पष्ट पारेको छ।