- बैशाख १२, २०८२
- No Comment
- 1
सल्यानमा यात्रुबाहक बस दुर्घटना, पाँच घाइते

सल्यान । रुकुम पश्चिमको नुवाकोटबाट छुटेको यात्रुबाहक बस सल्यानमा दुर्घटनामा पर्दा पाँच जना घाइते भएका छन् ।
शुक्रबार बिहान सल्यानको बागचौर नगरपालिका–५ स्थित खालबोटमा लु २ ख ६२७१ नम्बरको हाउस गाडी अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा परेका पाँच जना यात्रुमध्ये तीन जनाको हातखुट्टामा सामान्य चोट लागेको छ भने दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइते सबैलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्था बागचौर लगिएको छ । गम्भीर घाइतेको थप उपचारका लागि अन्यत्र सिफारिस गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
दुर्घटनापछि गाडी चालक फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरी चौकी सिमखोलीका इन्चार्ज कृष्ण शाहले जानकारी दिए ।