
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीस्वरूप कर्णाली प्रदेशमा जिल्ला तथा प्रदेशस्तरीय छनोट प्रतियोगिताको मिति र स्थान तय गरिएको छ। कर्णाली प्रदेश खेलकुद विकास परिषद्का अनुसार जिल्लास्तरीय छनोट असोज १२ देखि २२ गतेसम्म १० वटै जिल्लामा सञ्चालन हुनेछ भने यसको व्यवस्थापनका लागि पाँच जना संयोजक तोकिएका छन्। जिल्ला छनोट पश्चात् प्रदेशस्तरीय छनोट प्रतियोगिता असोज २६ देखि ३१ गतेसम्म सञ्चालन हुनेछ।
प्रदेशस्तरीय छनोट अन्तर्गत दैलेखमा कराँते, एफसी कराँते र ह्यान्डबल, जाजरकोटमा खोखो, सल्यानमा टेबल टेनिस, रुकुम पश्चिममा महिला कबड्डी, जुम्लामा डब्लूटीएफ तेक्वान्दो, हुम्लामा महिला भलिबल र हक्की, मुगुमा पुरुष कबड्डी, कालिकोटमा पुरुष भलिबल, डोल्पामा चेस तथा बाँकी अन्य खेलहरूको छनोट सुर्खेतमा हुनेछ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औँ बोर्ड बैठकले यसअघि मिति परिवर्तन गर्दै दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमै आयोजना गर्ने निर्णय गरेको छ।



