
काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले लगातार दोस्रो हार व्यहोरेको छ। बिहीबार भएको खेलमा नेपाल इन्डोनेसियासँग ३–० को सोझो सेटमा पराजित भएको हो।
आइचीस्थित पार्क एरिना कोमाकीमा भएको खेलमा नेपालले पहिलो सेट २५–१२, दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–२० ले गुमायो। यसअघि बुधबार भएको पहिलो खेलमा नेपाल जापानसँग पनि ३–० को सोझो सेटमा पराजित भएको थियो।
लगातार दोस्रो हारसँगै महिला भलिबलमा नेपालको पदक जित्ने सम्भावना समाप्त भएको छ। अब नेपालले वरियताका लागि प्रतिस्पर्धा गर्नेछ। त्यसका लागि नेपालले सामना गर्ने टोलीको टुङ्गो लाग्न बाँकी छ।
नेपालले सन् २०२३ मा चीनको हाङ्झाउमा सम्पन्न १९औँ एसियाली खेलकुदमा ११औँ स्थान हासिल गरेको थियो।



