
काठमाडौं । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई प्रहरीले आइतबार बिहान महाराजगञ्जस्थित निवासबाट पक्राउ गरेको छ। बिहान करिब ३ बजे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउपछि राणालाई टेकूस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा राखिएको छ। तर, उनलाई नियन्त्रणमा लिनुको कारण प्रहरीले हालसम्म खुलाएको छैन।
राणा २०७५ पुसमा प्रधानन्यायाधीश बनेका थिए। २०७८ फागुन १ गते उनीविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी निलम्बनमा परेका थिए। उक्त प्रस्ताव २०७९ मंसिरमा निष्क्रिय भएको पत्र संसद्का महासचिवले सर्वोच्च अदालतलाई पठाएका थिए। सो पत्रविरुद्ध परेको रिट सर्वोच्च अदालतले तीन साताअघि खारेज गरिसकेको छ।



