
काठमाडौं । विश्वभर प्रयोग हुने कपाल विस्तार (हेयर एक्सटेन्सन)मा स्तन क्यान्सर, हार्मोन असन्तुलन तथा प्रजनन समस्यासँग सम्बन्धित खतरनाक रसायनहरू फेला परेको एक नयाँ अध्ययनले देखाएको छ।
जर्नल अफ द अमेरिकन केमिकल सोसाइटी मा प्रकाशित उक्त अनुसन्धानलाई अहिलेसम्मकै ठूलो अध्ययनका रूपमा दाबी गरिएको छ। अध्ययनमा विग, ब्रेडिङ, बुनाइ तथा क्लिप–इनजस्ता ४३ प्रकारका कपाल नमूनाको परीक्षण गरिएको थियो।
अनुसन्धानमा ती नमूनाहरूमा करिब १७० प्रकारका रसायन भेटिएको उल्लेख गरिएको छ, जसमध्ये ४८ वटा अन्तर्राष्ट्रिय रूपमा खतरनाक सूचीमा सूचीकृत छन्। तीमध्ये ३६ नमूनामा स्तन क्यान्सरसँग सम्बन्धित १७ प्रकारका रसायन फेला परेका छन्।
अध्ययनका प्रमुख अनुसन्धानकर्ता डा. एलिसिया फ्र्याङ्कलिन का अनुसार कपाल एक्सटेन्सन लामो समयसम्म छालासँग प्रत्यक्ष सम्पर्कमा रहने भएकाले यसको जोखिम अझ बढ्ने गर्दछ। उनका अनुसार यस्ता सामग्रीहरू हप्तौँदेखि महिनौँसम्म टाउको, घाँटी र शरीरसँग सम्पर्कमा रहँदा दीर्घकालीन असर देखिन सक्छ।
अनुसन्धानले करिब १० प्रतिशत नमूनामा अर्गानोटिन यौगिकसमेत फेला पारेको जनाएको छ, जुन प्रायः ज्वाला–प्रतिरोधी प्लास्टिक बनाउन प्रयोग गरिन्छ। साथै फिनोल र थ्यालेटजस्ता रसायनहरूले हार्मोन प्रणालीमा अवरोध पुर्याउने तथा प्रजनन क्षमतामा असर गर्ने देखिएको छ।
चिन्ताजनक रूपमा ‘मानव कपाल’ वा ‘कुमारी कपाल’ भनेर बेचिने उत्पादनहरू पनि सुरक्षित नहुन सक्ने अध्ययनले संकेत गरेको छ। केही अवस्थामा यस्ता उत्पादनमा कृत्रिम कपालभन्दा बढी खतरनाक रसायनसमेत फेला परेका छन्।
अनुसन्धानकर्ताहरूका अनुसार कपाललाई चम्किलो, टिकाउ र सजिलै व्यवस्थापनयोग्य बनाउन प्रशोधनका क्रममा विभिन्न रसायन प्रयोग गरिन्छ। ती रसायनहरू कम मात्रामा भए पनि स्वास्थ्यका लागि जोखिमपूर्ण हुन सक्छन्।
यस्तै, कपाल एक्सटेन्सन तताउँदा विषाक्त ग्यास निस्कन सक्ने र सासमार्फत शरीरमा प्रवेश गर्न सक्ने चेतावनी दिइएको छ। छालाको सम्पर्कबाट समेत यस्ता रसायन शरीरमा प्रवेश गर्न सक्ने हुँदा प्रयोगकर्ता मात्र नभई कपाल स्टाइलिस्टसमेत जोखिममा पर्न सक्ने बताइएको छ।
अध्ययनले कपाल एक्सटेन्सन प्रयोगपछि चिलाउने, रातोपन, सुन्निने तथा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको गुनासोसमेत आएको जनाएको छ। ४३ नमूनामध्ये केवल दुई नमूनामा मात्र खतरनाक रसायन नपाइएको उल्लेख गरिएको छ।
विशेषज्ञहरूका अनुसार कपाल एक्सटेन्सनलाई प्रायः कस्मेटिक उत्पादनको श्रेणीमा नराखिने भएकाले यसको नियमन र सुरक्षा परीक्षण कमजोर रहेको छ। विश्वव्यापी रूपमा यसको बजार तीव्र रूपमा विस्तार भइरहेको भए पनि उपभोक्ता सुरक्षामा पर्याप्त ध्यान नदिइएको अध्ययनले औंल्याएको छ।



