
सुर्खेतको गुर्भाकोट नगरपालिका-८ सुन्दरनगरमा दाउराको चिरपट प्रहारबाट ६२ वर्षीय मानबहादुर राजीको मृत्यु भएको छ। हिजाे (मंगलबार) बिहान करिब ११:३० बजे सोही ठाउँका ४० वर्षीय टेकबहादुर विकले अजय परियारको घरको आँगनमा राजीको टाउको र बायाँ खुट्टामा दाउराको चिरपट प्रहार गरेको थिए। चिर्पट प्रहारबाट घाइते भएका राजीलाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ, सुर्खेत लगिएको थियो।
स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएकोमा दिउँसो २:१२ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकको शव पोस्टमार्टमका लागि मेहेलकुना अस्पताल, सुर्खेतको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
घटनापछि प्रहरीले कुटपिटमा संलग्न रहेको आरोपमा टेकबहादुर विकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक श्याम प्रकाश यादवले कर्णाली टुडेलाई जानकारी दिए। घटनाको कारण भने खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



