
वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिने प्रलोभनमा पारेर ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। आकर्षक तलबको झूटा आश्वासन देखाएर रकम असुली सम्पर्कविहीन बनेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा झापा जिल्ला स्थायी घर भएका ४४ वर्षीय संजय सुबेदी र चितवनकी ३४ वर्षीया मधुमालती स्याङताङ रहेका छन्।
प्रहरीका अनुसार अभियुक्त सुबेदीले एक पीडितलाई मलेसिया पठाइदिने भन्दै ९ लाख रुपैयाँ लिएका थिए भने स्याङताङले पनि एक अन्य पीडितबाट २ लाख रुपैयाँ ठगी गरेका थिए। रकम लिएपश्चात् उनीहरू वैदेशिक रोजगारीमा पनि नपठाई र पैसासमेत फिर्ता नगरी सम्पर्कविहीन भएका थिए।
पीडितहरूले दिएको उजुरीका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिन सफल भएको हो। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।



