
कर्णाली प्रदेशका १० जिल्लामध्ये सबैभन्दा बढी सवारी दुर्घटना र मानवीय क्षति सुर्खेतमा भएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको आर्थिक वर्ष २०८२/०८३ को तथ्यांक अनुसार यस वर्ष प्रदेशभर भएका दुर्घटनाहरूमा ठूलो संख्यामा नागरिकले ज्यान गुमाएका छन्।
प्रहरी कार्यालयका अनुसार सुर्खेतमा सवारी दुर्घटनामा परी २४ पुरुष, ९ महिला र ४ बालकसहित जम्मा ३७ जनाको मृत्यु भएको छ। त्यस्तै, रुकुमपश्चिममा २२ जना र सल्यानमा २१ जनाको मृत्यु भएको छ।
अन्य जिल्लाहरूको अवस्था हेर्दा कालीकोटमा १३, दैलेखमा १२, जाजरकोटमा ९, हुम्लामा ८, जुम्लामा ४, डोल्पामा ६ र मुगुमा ३ जनाको सवारी दुर्घटनामा परी ज्यान गएको छ।
घाइतेहरूको संख्या:
दुर्घटनामा परी प्रदेशभर हजारौं नागरिक घाइते भएका छन्। जसमध्ये सबैभन्दा बढी सुर्खेतमा १ हजार १९५ जना, रुकुमपश्चिममा २६२ जना, सल्यानमा २०२ जना र दैलेखमा २०० जना घाइते भएका छन्। अन्य जिल्लाहरूमा जाजरकोटमा १२६, कालीकोटमा ९६, जुम्लामा ८४, डोल्पामा ५६, हुम्लामा ५४ र मुगुमा ३० जना घाइते भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
प्रतिकूल भूगोल, सडकको दूरावस्था र लापर्वाहीपूर्ण ड्राइभिङका कारण दुर्घटनाका घटनाहरू बढ्दै गएकाले यसमा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।



