
सल्यान, साउन २१ — सल्यानमा एक सामुदायिक विद्यालयका शिक्षक आफ्नै डेराको कोठामा मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बागचौर नगरपालिका–७ कोदालचौर घर भई हाल बागचौर नगरपालिका–६ ठुलाहिममा डेरा गरी बस्दै आएका ४८ वर्षीय हरिबहादुर वली बुधबार बिहान मृत अवस्थामा फेला परेका हुन्। उनी ठुलाहिमस्थित सरस्वती माध्यमिक विद्यालयमा अध्यापनरत थिए।
प्रहरीका अनुसार मंगलबार राति खाना खाएर सुतेका वलीलाई बुधबार बिहान करिब ७ बजे घरबेटी कमला वलीले उठाउन खोज्दा अचेत अवस्थामा भेटेपछि इलाका प्रहरी कार्यालय सिमखोलीमा खबर गरिएको थियो।
सूचना प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक निरज खत्रीको नेतृत्वमा पुगेको प्रहरी टोलीले घटनास्थलमा पुगेर वलीको मृत्यु भएको पुष्टि गरेको जनाएको छ। घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



