
सुर्खेत, साउन २१ — सुर्खेतको बराहताल गाउँपालिका–५ खर्क मोडमा मिनी ट्रक र मोटरसाइकल ठोक्किँदा एक किशोर गम्भीर घाइते भएका छन् भने दुर्घटनापछि फरार भएका ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ।
बुधबार बेलुकी करिब ४ः४५ बजे दैलेखबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र.०१००१क ०८९२ नम्बरको मिनी ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको भे.६प. ८७८७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार दैलेख दुल्लु नगरपालिका–५ का १४ वर्षीय रजत सिंह साउन गम्भीर घाइते भएका छन्। उनलाई कर्णाली केयर अस्पताल सुर्खेतमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं लगिएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि फरार भएका मिनी ट्रक चालक सुर्खेत पञ्चपुरी नगरपालिका–२ का २४ वर्षीय सन्तोष नेपालीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ। दुवै सवारी साधन नियन्त्रणमा लिइएको र चालकलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बाबियाचौर पठाइएको प्रहरीले जनाएको छ।



