
संखुवासभा चैनपुर नगरपालिका–१, नुनढाकी थर्पुमा मादक पदार्थ सेवन गरी भएको घरायसी विवादमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया श्रीमती मिङ्माछिकी शेर्पाको मृत्यु भएको छ।
प्रहरीका अनुसार कात्तिक ११ गते बिहान करिब ९:०० बजेको समयमा सोही स्थानमा बस्ने ४८ वर्षीय तेम्बा रिन्जे शेर्पाले मादक पदार्थ सेवन गरेर श्रीमती मिङ्माछिकी शेर्पालाई कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएकी उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको खबर प्राप्त हुनासाथ स्थानीय प्रहरी चौकीबाट खटिएको टोलीले हत्यामा संलग्न श्रीमान् तेम्बा रिन्जे शेर्पालाई नियन्त्रणमा लिइसकेको छ। प्रहरीले आरोपीलाई नियन्त्रणमा लिएर यस घटना सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ।



