
मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ (हिमालचुली) हिमाल क्षेत्रमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका दुई जनाको पहिचान खुलेको छ। आइतबार गएको उक्त हिमपहिरोमा परी सम्पर्कविहीन भएकामध्ये दुई जनाको शव फेला परेको हो।
मृत्यु हुनेमा सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ का क्षेपी भोटे र सोही गाउँपालिका वडा नम्बर–२ का ३१ वर्षीय पासाङ भोटे रहेका छन्। मृतक दुवैजना पर्यटक गाइड (टुरिष्ट गाइड) हुन्।
जिल्ला प्रहरी कार्यालय मनाङका इन्स्पेक्टर विनोद बोहराका अनुसार उनीहरूको शव पोस्टमार्टमका लागि कैलाश हेलिकप्टरमार्फत काठमाडौँको त्रिवि शिक्षण अस्पताल ल्याइएको छ।
हिमपहिरो खसेको क्षेत्रमा अझै केही मानिसहरू सम्पर्कविहीन रहेका छन्। उनीहरूको खोजी तथा उद्धारका लागि कैलाश हेलिकप्टरमार्फत उद्धारकर्मीहरूलाई घटनास्थलमा पठाइएको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।


