
सल्यान जिल्ला प्रशासन कार्यालयले सुरक्षालाई मध्यनजर गर्दै जिल्लाका तीन प्रमुख सडकखण्डमा रात्रिकालीन समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी वन्धनाकुमारी केसीका अनुसार जारी गरिएको सूचनाअनुसार बिहीबारदेखि आइतबारसम्म बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म ती सडकखण्डमा यातायात आवागमन पूर्ण रूपमा बन्द रहनेछ । रात्रिकालीन समयमा सवारी आवागमन रोक लगाइएका सडकखण्डहरूमा राप्ती राजमार्गअन्तर्गतको लुहाम–कपुरकोट–तुल्सीपुर सडकखण्ड, राप्ती राजमार्गकै बाङ्गेलाखुरी–झुल्नेटा सडकखण्ड र तुल्सीपुर–कालीमाटी–सुर्खेत सडकखण्डअन्तर्गत कालीमाटीदेखि काल्चेसम्मको सडकखण्ड रहेका छन् । प्रशासनले तोकिएको समयमा यी मार्गहरूमा सवारी नचलाउन र सुरक्षा मापदण्ड पालना गर्न सम्बन्धित सबैमा आग्रह गरेको छ ।



