
कर्णाली प्रदेश सरकारले भारी वर्षाको जोखिम र क्षतिबाट बच्न सर्वसाधारणलाई अनुरोध गरेको छ। प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले बाढी, पहिरो र दुर्घटनाको जोखिम टार्न आइतबारसम्म सतर्क रहन आग्रह गरेको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रदेश सचिव लक्ष्मीकुमार विकका अनुसार रातिको समयमा बाढी-पहिरोले सडक अवरुद्ध हुने र सवारीसाधन पुरिने जोखिम उच्च भएकाले १० वटै जिल्लामा रात्रिकालीन यातायात सञ्चालनमा रोक लगाइएको छ। जोखिमयुक्त सडकको पहिचान गरी सुरक्षित व्यवस्था मिलाउने जिम्मा जिल्ला विपद् व्यवस्थापन समितिलाई दिइएको छ।
मुख्यमन्त्री मङ्गलबहादुर शाहीले कर्णाली तथा भेरी करिडोर, मध्यपहाडी लोकमार्गलगायत प्रमुख सडकहरूमा निगरानी बढाउन र सुरक्षा निकायलाई पूर्वतयारी अवस्थामा रहन निर्देशन दिएका छन्। साथै, बाढी प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन र अवरुद्ध सडक तत्काल खुलाएर यात्रुको उद्धार गर्न सम्बन्धित निकायलाई भनिएको छ।



