
धनगढी : इलाका प्रहरी कार्यालय सुख्खड, कैलालीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरी पुनः आफ्नो कार्यक्षेत्रमा फर्किएका छन्। केही दिनअघि जिल्ला प्रहरी कार्यालयमा तानिएका चौधरीसँग स्पष्टीकरण लिइएपछि उनलाई पुनः जिम्मेवारीमा फर्काइएको प्रहरी स्रोतले जनाएको छ। हालै एक सार्वजनिक कार्यक्रममा व्यक्त गरेको विचारलाई लिएर उनी चर्चा र विवादको केन्द्रमा रहेका थिए।
उक्त कार्यक्रममा डीएसपी चौधरीले नेपाल प्रहरी कुनै पनि व्यक्ति वा राजनीतिक दलको नभई संविधान र कानुनको अधीनमा रहने स्वतन्त्र संस्था भएको जिकिर गरेका थिए। उनले आफू लोकसेवा आयोगको खुला प्रतिस्पर्धाबाट छनोट भएको उल्लेख गर्दै संगठन 'मेरिट' र कानुनका आधारमा चल्ने बताएका थिए। 'हामी बालेनको पुलिस होइनौं, नेपाल प्रहरी हौं; कानुनअनुसार न्याय दिलाउने संस्था हौं,' भन्ने उनको अभिव्यक्ति सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो। स्पष्टीकरण प्रक्रिया पूरा भएपछि उनलाई पुनः सुख्खडकै कमान्ड सम्हाल्ने गरी जिम्मेवारी दिइएको छ।



