
कैलाली। कैलालीको टीकापुर प्रादेशिक अस्पतालमा कार्यस्थलमै कुटपिटको घटनामा संलग्न एक जना करारका कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। अस्पतालका ल्याब इन्चार्ज उमेश बजगाईँमाथि कुटपिट गरेको आरोपमा फिजियो थेरापिस्ट अनिल तिवारीलाई नियन्त्रणमा लिइएको हो। अस्पतालभित्रै भएको उक्त घटनाको सीसीटीभी फुटेज सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाले थप चर्चा पाएको थियो। पीडित बजगाईँले दोषीमाथि कडा कारबाहीको माग गर्दै अस्पताल प्रशासनमा निवेदन दिएका थिए। सोही निवेदनका आधारमा अस्पताल प्रशासनले प्रहरीलाई गुहारेपछि तिवारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिएका छन्। सार्वजनिक स्वास्थ्य संस्थाजस्तो संवेदनशील ठाउँमा कर्मचारीबीच नै हातपात र अशोभनीय व्यवहार देखिएपछि सेवाग्राही र स्थानीय स्तरमा समेत आलोचना भइरहेको छ।



