
सुर्खेत, साउन १४ — चेक अनादर (बाउन्स) मुद्दामा अदालतबाट दुई वर्ष कैद सजाय ठहर भई फरार रहेका एक प्रतिवादीलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–८, खजुरा निवासी अन्दाजी ३५ वर्षीय रुवेन सिंह वस्याल रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी सहायक निरीक्षक किशोर खत्रीको नेतृत्वमा खटिएको टोलीले उनलाई बुधबार बिहान करिब ९ः१५ बजे आफ्नै निवासबाट पक्राउ गरेको हो।
सुर्खेत जिल्ला अदालतको २०८३ असार २९ गतेको फैसलाअनुसार चेक अनादर मुद्दामा वस्याललाई दुई वर्ष कैद सजाय सुनाइएको थियो। फैसला पश्चात् उनी फरार रहँदै आएका थिए।
पक्राउ परेका वस्याललाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतमा उपस्थित गराइने तयारी भइरहेको प्रहरीले जनाएको छ।



