
आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी शृङ्खलामा नेपाली क्रिकेट टोलीले निरासाजनक प्रदर्शनलाई निरन्तरता दिएको छ। बुधबार सम्पन्न खेलमा घरेलु टोली नेदरल्यान्ड्ससँग ५७ रनले पराजित भएसँगै नेपालले लगातार चौथो हार व्यहोरेको छ। नेदरल्यान्ड्सले प्रस्तुत गरेको २२६ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल ४८ ओभरमा १६८ रनमै समेटिन पुग्यो। नेपाली टोलीका लागि आसिफ शेखले सर्वाधिक ३८, कप्तान रोहित पौडेलले २६ र करण केसीले २३ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। यसअघि बलिङतर्फ करण केसीले ४ विकेट लिँदै किफायती प्रदर्शन गरे पनि नेदरल्यान्ड्सका नोआ क्रोस (७० रन) र कप्तान स्कट एडवार्ड्स (५७ रन) को साझेदारीले नेपाललाई चुनौतीपूर्ण लक्ष्य दिएको थियो। यो हारसँगै नेपालको विश्वकप लिग-२ को शीर्ष चारमा पुग्ने यात्रा अत्यन्तै कठिन बनेको छ। हाल ३२ खेलबाट २४ अंक जोडेको नेपालका लागि अब बाँकी खेल जित्नुका साथै अन्य टोलीको नतिजा आफ्ना पक्षमा हुनुपर्ने बाध्यता देखिएको छ।



