
सुनसरीको गढी गाउँपालिका–१ मदेली झण्डा चोकबाट प्रहरीले अवैध हतियारसहित दुई जनालाई पक्राउ गरेको छ। असार २४ गते राति गस्तीमा रहेको अस्थायी प्रहरी चौकी चाँदबेलाको टोलीले शंकास्पद अवस्थामा हिँडिरहेका मोरङ विराटनगर–१७ का ५१ वर्षीय नुर महोमद र विराटनगर–८ का ३२ वर्षीय इम्रान खानलाई नियन्त्रणमा लिएको हो। जाँचका क्रममा नुर महोमदको साथबाट एक थान चाइनिज पेस्तोल र त्यसमा लोड गरिएको तीन राउन्ड गोली बरामद भएको छ। पक्राउ परेका दुवै जनालाई हाल इलाका प्रहरी कार्यालय दुहवीमा राखी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। पछिल्लो समय सुरक्षा सतर्कता बढाइएको सुनसरी क्षेत्रमा हतियारसहित पक्राउ परेका यी व्यक्तिहरूलाई लिएर सुरक्षा निकायले गम्भीर चासो व्यक्त गरेको छ।



