
काठमाडौँ–नेपालभर यतिबेला मनसुनी वायुको सक्रिय प्रभाव कायमै छ, जसका कारण देशभरको मौसम बदली भई अधिकांश स्थानमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमै रहेकाले आगामी केही दिन देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ। विशेषगरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा सतर्कता अपनाउनुपर्ने गरी ठूलो वर्षाको आकलन गरिएको छ।
तराईका केही क्षेत्रमा हावाहुरीसहितको वर्षा हुने सम्भावना रहेकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन्। रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा अति भारी वर्षाको जोखिम रहेकाले नदी तटीय क्षेत्र तथा पहिरोको उच्च जोखिम रहेका स्थानमा रहेका बासिन्दालाई विशेष सजगता अपनाउन विभागले अनुरोध गरेको छ।



