
कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२/८३ मा रु ३५ करोड आठ लाख ४३ हजार ५९० राजस्व सङ्कलन भएको छ। भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गत सुर्खेत, जुम्ला र रुकुमपश्चिम यातायात कार्यालयबाट उक्त राजस्व सङ्कलन गरिएको हो।
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव अर्जुनकुमार बमका अनुसार जिल्लागत रूपमा सबैभन्दा बढी राजस्व यातायात व्यवस्था कार्यालय सुर्खेतबाट रु २९ करोड ५६ लाख नौ हजार ४१० सङ्कलन भएको छ। त्यसैगरी, जुम्लाबाट करिब रु दुई करोड र रुकुमपश्चिमबाट रु तीन करोड ५७ लाख ९१ हजार ६५० राजस्व सङ्कलन भएको छ।
सङ्कलित कुल राजस्वमध्ये सवारीसाधन करको योगदान ८७.४६ प्रतिशत रहेको छ, जुन राजस्व सङ्कलनको मुख्य आधार हो। यसबाहेक चालक अनुमतिपत्र, सवारी दर्ता तथा नवीकरण दस्तुरबाट १०.९४ प्रतिशत, प्रशासनिक दण्ड, जरिवाना तथा जफतबाट १.४८ प्रतिशत र अन्य प्रशासनिक सेवा शुल्कबाट ०.२१ प्रतिशत राजस्व सङ्कलन भएको सचिव बमले जानकारी दिएका छन्। मन्त्रालयले यातायात क्षेत्रको सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउँदै राजस्व सङ्कलन तथा प्रशासनिक व्यवस्थापनलाई थप सुदृढ गर्ने जनाएको छ।



