- जेष्ठ २४, २०८३
- No Comment
- 0
सुर्खेतकाे भेरीगंगामा ईभी गाडी दुर्घटना अपडेट: घाइतेहरूकाे खुल्याे पहिचान

सुर्खेत, जेठ २४ — सुर्खेतको भेरीगंगा नगरपालिका–१२ पाडुलेस्थित सुर्खेत–छिन्चु सडकखण्डमा ईभी गाडी दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका छन्। घाइतेमध्ये दैलेखका विष्णु बुढाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
साँझ करिब ६:०० बजे सुर्खेतबाट छिन्चुतर्फ जाँदै गरेको भे.१ ज. १७८६ नम्बरको विद्युतिय गाडी (ईभी) अचानक अनियन्त्रित भई सडकबाट करिब २०–२५ मिटर तल खसेर दुर्घटनामा परेको हो।
दुर्घटनामा चालक २३ वर्षिय विवेक वली , २० वर्षिय सहचालक खगेन्द्र खत्री , ५४ वर्षिय ज्ञानबहादुर शाही , ५८ वर्षिय प्रेमबहादुर चन्द र ४४ वर्षिय विष्णु बुढा घाइते भएकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ। घाइतेहरूलाई तत्काल उद्धार गरी थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षक प्रकाश के.सी.को नेतृत्वमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा पुगेको थियो। दुर्घटनाग्रस्त गाडी घटनास्थलमै रहेको तथा सडक यातायात भने अवरुद्ध नभएको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।



