- जेष्ठ २४, २०८३
- No Comment
- 6
नौ बुँदे ‘टीकापुर–सन्देशपत्र’ जारी गर्दै अन्तर–व्यवस्थापिका मञ्चको सम्मेलन सम्पन्न

कैलालीको टीकापुरमा आयोजित अन्तर–व्यवस्थापिका मञ्चको ११ औँ सम्मेलन ९ बुँदे ‘टीकापुर–सन्देशपत्र’ जारी गर्दै सम्पन्न भएको छ । संसदीय गतिविधिलाई आधुनिक र पारदर्शी बनाउन सङ्घीय संसद् र सबै प्रदेशसभामा ‘डिजिटल पार्लियामेन्ट’ प्रणाली विकास गर्ने निर्णय सम्मेलनले गरेको छ । यस प्रविधिमार्फत संसदीय कार्यमा नागरिक सहभागिता सुनिश्चित गरिनेछ ।
सम्मेलनले सङ्घ, प्रदेश र स्थानीय तहबीच कानुन निर्माण र व्यवस्थापकीय कार्यलाई सहकारिता, समन्वय र सहअस्तित्वको संवैधानिक सिद्धान्तअनुसार अगाडि बढाउने प्रतिबद्धता जनाएको छ । यसका लागि सङ्घीय संसद्सँग समन्वय गर्न सबै प्रदेशसभाले ‘सङ्घ–प्रदेश समन्वय शाखा वा इकाई’ स्थापना गर्ने तय भएको छ ।
तीनै तहको कानुन निर्माण प्रक्रियालाई अनुसन्धान र नवप्रवर्तनमा आधारित बनाउन जोड दिइएको छ । जनप्रतिनिधि र कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि सङ्घीय संसद्अन्तर्गत एक विशिष्ट ‘व्यवस्थापकीय प्रतिष्ठान’ स्थापना गर्न विशेष पहल गरिने सन्देशपत्रमा उल्लेख छ ।
आगामी आर्थिक वर्षभित्र सरकारको नीति, कार्यक्रम र बजेट निर्माण प्रक्रियालाई थप नतिजामूलक बनाउन सङ्घीय संसद् र प्रदेशसभामा ‘संसदीय बजेट कार्यालय’ स्थापना गरिनेछ । साथै, सांसदहरूको कार्यगत दक्षता बढाउनका लागि आवश्यक सहयोगी कर्मचारीको व्यवस्था गर्न सम्बन्धित निकायमा पहल गरिनेछ ।
प्रदेशसभाहरूमा हाल देखिएको कर्मचारी अभावको समस्या समाधान गर्न सम्मेलनले विशेष निष्कर्ष निकालेको छ । संविधानको धारा २३१ (३) को भावनाअनुसार सङ्घ र प्रदेशसभाका कर्मचारीहरूका लागि एउटै सेवा गठन सम्बन्धी आवश्यक कानुन निर्माण गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय भएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाका उपसभामुख तथा राष्ट्रियसभाका उपाध्यक्षको भूमिकालाई अझ बढी सक्रिय र प्रतिफलमूलक बनाउन गम्भीर चासो व्यक्त गरिएको छ । यस सम्बन्धमा अध्ययन गरी तीन महिनाभित्र सुझावसहितको प्रतिवेदन पेस गर्न राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ ।
सङ्घ, प्रदेश र स्थानीय तहका उदाहरणीय विधायिकी अभ्यास र कार्यकुशलता साटासाट गर्न पदाधिकारी एवं कर्मचारीहरूबीच नियमित अन्तरक्रिया र समीक्षा कार्यक्रमहरू आयोजना गरिनेछ । यसैबीच, मञ्चको आगामी १२ औँ सम्मेलन कर्णाली प्रदेशमा आयोजना गर्ने तय गर्दै टीकापुर सम्मेलन समापन भएको छ ।



