- चैत्र ८, २०८२
- No Comment
- 8
कालीकोटमा विशेषज्ञ चिकित्सा सेवा पुनः सञ्चालन
मान्म (कालीकोट), चैत ८ — कालीकोट जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सा सेवा पुनः सञ्चालनमा आएको छ। लामो समयदेखि अवरुद्ध रहेको सेवा पुनः सुरु भएसँगै स्थानीय बासिन्दाले जिल्लामै विशेषज्ञ उपचार पाउने भएका छन्।
जिल्ला अस्पतालबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ले प्रदान गर्दै आएको विशेषज्ञ सेवा विगत करिब १० महिनादेखि विभिन्न कारणले नियमित हुन सकेको थिएन। यसअघि प्रतिष्ठानले प्रत्येक महिनाको पहिलो र अन्तिम शुक्रबार अस्पतालमार्फत विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको थियो।
चैत ६ गते शुक्रबारदेखि सेवा पुनः सञ्चालन भएसँगै बिरामीलाई सहज पहुँचमा उपचार सेवा उपलब्ध हुने विश्वास गरिएको छ।
जिल्ला अस्पतालका सूचना अधिकारी कटक महतका अनुसार विशेषज्ञ चिकित्सक परिचालन गरी सेवा पुनः सञ्चालन गरिनु सकारात्मक उपलब्धि भएको बताए। “विशेषज्ञ सेवा पुनः सुरु गरिदिएकामा हामी प्रतिष्ठानप्रति आभारी छौँ,” उनले भने, “अब नियमित रूपमा सेवा विस्तार गरिनेछ।”
सेवा पुनः सञ्चालनसँगै स्थानीय नागरिकलाई उपचारका लागि बाहिरी जिल्ला धाउनुपर्ने बाध्यता कम हुने तथा गुणस्तरीय स्वास्थ्य सेवा जिल्लामै सहज रूपमा उपलब्ध हुने अपेक्षा गरिएको छ।