सुर्खेत, चैत ७ — सुर्खेतको भेरीगंगा नगरपालिकामा बिरामी बोकेको एम्बुलेन्स तोडफोड गरी चालकलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तीन जना युवालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार चैत ६ गते राति करिब १०:०५ बजे सल्यानको कुमाख गाउँपालिकाबाट बिरामी लिएर नेपालगञ्जतर्फ जाँदै गरेको एम्बुलेन्सलाई भेरीगंगा नगरपालिका–११ सादिखोलास्थित सडक खण्डमा अज्ञात समूहले रोकेको थियो। मादक पदार्थ सेवन गरेका ५–६ जनाको समूहले एम्बुलेन्स चालक ३२ वर्षीय वसन्त शर्मामाथि हातपातको प्रयास गरेको जनाइएको छ।
घटनापछि चालकले तत्काल इलाका प्रहरी कार्यालय छिन्चुमा जानकारी गराएका थिए। त्यसलगत्तै प्रहरी चौकी रामघाट र इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको टोली घटनास्थल पुगे पनि प्रारम्भिक अवस्थामा संलग्न व्यक्तिहरू फेला परेका थिएनन्।
भोलिपल्ट बिहान चालकले एम्बुलेन्सको पछाडिको सिसा फुटेको जानकारी दिएपछि प्रहरीले तीव्र खोजी सुरु गरेको थियो। प्रारम्भिक अनुसन्धानका आधारमा घटनामा संलग्न रहेको आशंकामा प्रहरीले भेरीगंगा नगरपालिका–११ का तीन जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा २० वर्षीय प्रविण गहतराज, १८ वर्षीय विशाल बि.क. र १९ वर्षीय विशाल बि.क. रहेका छन्।
पक्राउ परेका तीनै जनालाई हाल इलाका प्रहरी कार्यालय छिन्चुमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।