- फाल्गुन ११, २०८२
- No Comment
- 3
टाउको दुख्नुका ९ कारण यस्ता छन
काठमाडौं। टाउको दुखाइ सामान्य समस्या जस्तो देखिए पनि यसका कारणहरू विविध र कहिलेकाहीँ गम्भीर समेत हुन सक्छन्। इन्टरभेन्सनल न्युरो सर्जन डा. प्रसन्ना कार्की का अनुसार नेपालको सन्दर्भमा करिब ६० प्रतिशत टाउको दुखाइ तनावका कारण हुने गरेको छ।
उनका अनुसार टाउको दुखाइलाई बेवास्ता गर्नु उचित हुँदैन। कारण पहिचान गरी उपचार गर्नु आवश्यक हुन्छ।
१. टेन्सन हेड्याक (तनावजन्य टाउको दुखाइ)
टाउको वरिपरि कसैले बाँधेजस्तो थिचिएको अनुभव हुने, माइल्ड तर लामो समयसम्म दुख्ने र निन्द्रा कम लाग्ने लक्षण देखिन्छ। ध्यान, योग, मनोवैज्ञानिक परामर्श तथा आवश्यक परे ३–६ महिनासम्म औषधि सेवनले निको हुन सक्छ।
२. माइग्रेन
एकातिर (दायाँ वा बायाँ) टाउको मात्र दुख्ने, २–३ दिनसम्म निरन्तर पीडा रहने र बारम्बार दोहोरिने समस्या माइग्रेन हो। खानपानमा ध्यान दिनु आवश्यक हुन्छ। चकलेट, अचार, दुग्धजन्य पदार्थ, अजिनोमोटो र मदिरा परहेज गर्दा धेरैलाई सुधार देखिन्छ। केही गम्भीर अवस्थामा विशेष उपकरणमार्फत उपचारसमेत सम्भव हुन्छ।
३. क्लस्टर हेड्याक
एउटा आँखाको वरिपरि तीव्र दुखाइ हुने, आँखा रातो हुने र केही दिनसम्म दोहोरिने समस्या क्लस्टर हेड्याक हो।
४. उच्च रक्तचाप
रक्तचाप बढ्दा टाउको गह्रौ हुने, सुत्दा–उठ्दा समेत दुख्ने हुन्छ। नियमित रक्तचाप जाँच आवश्यक हुन्छ।
५. पानीको कमी र मौसम परिवर्तन
विशेषगरी गर्मी मौसममा शरीरमा पानीको कमी हुँदा टाउको दुख्न सक्छ। दैनिक करिब ३ लिटर पानी सेवन गर्नुपर्ने सुझाव चिकित्सकहरूको छ।
६. पिनास (साइनोसाइटिस)
अनुहार वरिपरि दुखाइ, ज्वरो आउने तथा नाक बन्द हुने समस्या देखिन्छ।
७. संक्रमण (जस्तै मेनेन्जाइटिस)
टाउको दुखाइसँगै ज्वरो, वान्ता जस्ता लक्षण देखिएमा संक्रमणको संकेत हुन सक्छ। तुरुन्त चिकित्सकको सल्लाह आवश्यक हुन्छ।
८. नसा फुट्नु (ब्रेन हेमरेज)
विशेषगरी ४०–५० वर्षपछि अचानक तीव्र टाउको दुखाइ भएमा नसा फुट्ने जोखिम हुन सक्छ। बिरामी बेहोससमेत हुन सक्छन्। यस्तो अवस्थामा तत्काल अस्पताल जानुपर्ने हुन्छ।
९. ब्रेन ट्युमर
टाउको कहिले दुख्ने, कहिले नदुख्ने, वान्ता हुने, छारे रोगजस्ता लक्षण देखिनु ब्रेन ट्युमरको संकेत हुन सक्छ।
डा. कार्की कार्यरत नेपाल मेडिसिटी अस्पताल का अनुसार टाउको दुखाइलाई सामान्य भन्दै केवल प्यारासिटामोल खाएर बस्नु हुँदैन। अन्य लक्षण देखिएमा एमआरआईजस्ता परीक्षण आवश्यक पर्न सक्छ।
उनले विकसित देशमा नियमित रूपमा टाउकोको एमआरआई गर्ने चलन रहेको उल्लेख गर्दै चिकित्सकको सल्लाहमा परीक्षण गराउन सुझाएका छन्।
तनाव व्यवस्थापन, नियमित व्यायाम, योग, ध्यान तथा सकारात्मक सोचले टाउको दुखाइबाट बच्न सहयोग पुर्याउने उनले बताइन्। बिहान उठ्नासाथ मोबाइल चलाउने बानी कम गरी केही समय ध्यानमा लगाउने गरेमा पनि लाभ मिल्ने उनको सुझाव छ।