- माघ २८, २०८२
- No Comment
- 10
तौल घटाउन चाहनुहुन्छ ? यी खानेकुरा बढी खानुहोस्
काठमाडौँ। पछिल्लो समय मोटोपन स्वास्थ्यको प्रमुख समस्याका रूपमा देखिन थालेको छ। विज्ञहरूका अनुसार तौल घटाउन अत्यधिक डाइटिङभन्दा पनि फाइबर र प्रोटिनयुक्त सन्तुलित आहार र नियमित कसरत नै सबैभन्दा प्रभावकारी उपाय हो।
पोषणविद्हरू भन्छन्, हरियो सागसब्जी, साबुत अन्न, फलफूल, दाल, चना, अण्डा, तोफुजस्ता खानेकुराले पेट छिटो भरिएको महसुस गराउँछन्। यसले अनावश्यक रूपमा धेरै खाने बानी घटाउनुका साथै शरीरमा बोसो कम गर्न सहयोग पुर्याउँछ।
फाइबरयुक्त खानेकुराले पाचन प्रणाली सुधार्नुका साथै लामो समयसम्म भोक नलाग्ने अनुभूति दिलाउँछ। पालुंगा, तोरीको साग, स्याउ, नासपाती, ब्राउन राइस, जौँजस्ता खानेकुरा तौल घटाउन उपयुक्त मानिन्छन्।
प्रोटिनले बोसो घटाउन सहयोग
प्रोटिनयुक्त खानाले मांशपेशी सुरक्षित राख्दै बोसो घटाउन मद्दत गर्छ। उबालेको अण्डा, दाल, चना, भटमास, छाला हटाइएको कुखुराको मासु तथा तोफु र पनिरलाई सीमित मात्रामा आहारमा समावेश गर्न सकिन्छ।
पानी र तरल पदार्थको भूमिका
दिनभरि प्रशस्त पानी पिउनुले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ। विज्ञहरूका अनुसार दैनिक कम्तीमा २.५ देखि ३ लिटर पानी पिउनु उपयुक्त हुन्छ। साथै सागपातको सुप र नरिवल पानी पनि लाभदायक मानिन्छ।
फलफूल छनोटमा ध्यान दिनुपर्ने
स्याउ, अम्बा, सुन्तला, किवी जस्ता लो–क्यालोरी फल तौल घटाउन उपयोगी हुन्छन्। तर अत्यधिक पक्किएको केरा, आँप र अंगुरजस्ता फलमा चिनीको मात्रा बढी हुने भएकाले सीमित मात्रामा मात्र सेवन गर्न सुझाव दिइन्छ।
हरियो चिया र कफी
हरियो चियामा पाइने एन्टिअक्सिडेन्टले बोसो जलाउने प्रक्रियामा सहयोग गर्ने विश्वास गरिन्छ। कफीले पनि केही हदसम्म बोसो घटाउन मद्दत गर्न सक्छ, तर चिनी र क्रीम बिना सेवन गर्नुपर्छ।
विशेषज्ञहरूका अनुसार सन्तुलित आहार, प्रशोधित र चिल्लो खाना कम प्रयोग, नियमित व्यायाम र स्वस्थ जीवनशैली अपनाउँदा तौल घटाउनु दीर्घकालीन रूपमा सुरक्षित र प्रभावकारी हुन्छ।