• पुस ७, २०८१
  • No Comment
  • 36

ध्यानमा यस्तो शक्ति छ जसले कुनै कसरत नगरी शरीर स्वस्थ राख्दछ

‘स्वस्थ रहन, दीर्घायु जिउन, तनावरहित रहन र मन शान्त रहन ध्यान गर्नुपर्छ ।’

‘ध्यानले स्वयंलाई चिनाउँछ ।’

कतिको बुझाइमा ध्यान गर्नु भनेको आँखा चिम्म गरेर बस्नु हो । कतिको बुझाइमा एउटै कुरामा ध्यान केन्द्रित हुनु, मन्त्र तथा माला जप्नु वा भगवानको नाम स्मरण गरेर बस्नु हो । ध्यानबारे सबैको आ-आफ्नो बुझाइ छ । ध्यानबारे सुन्ने तर ध्यान गर्ने चाही कसरी भन्ने कुरामा कतिपय अझ दोधारमा छन् ।

वास्तवमा ध्यान हो चाहिं के ? ध्यानमा त्यस्तो जादुमय शक्ति के छ, जसले कुनै कार्य वा परिश्रम नगरी शरीर स्वस्थ राख्छ ?

जापानीहरुका झेन र चीनको च्यान शब्द नै ध्यानको अपभ्रंश शब्द हो । अंग्रेजीमा ध्यानलाई मेडिटेसन पनि भन्ने गरिन्छ । योगमा विभिन्न अङ्ग हुन्छन्, जसमध्ये आठौं अंग ध्यानलाई मान्ने गरिन्छ । ध्यानलाई जे जसरी सम्बोधन गरे पनि यसको मुख्य अर्थ भनेकै आन्तरिक ऊर्जालाई जागरुक गर्नु हो ।

आचार्य कमल पौडेल अनुसार ध्यान भनेको शून्य अवस्थामा पुग्नु हो । अर्थात् मनमा खेल्ने लाखौं विचारलाई मेटाइ कुनै पनि कुरा नकल्पिनु, मनमा नल्याउनु, वरपर जे होस् त्यो न सुन्ने र ध्यान दिने मात्र आन्तरिक ऊर्जा अनुभव गर्नु ध्यान हो ।

‘कुनै विषयवस्तु वा विचारमा केन्द्रित नभई आफूले आफैंमा विश्राम लिने ध्यान एक प्रक्रिया हो,’ उनी भन्छन् ।

यस्तोमा प्रश्न आउन सक्छ ? त्यो अवस्थामा मानिस कसरी पुग्छ । ध्यान कसरी हुन्छ ? योगाचार्य तारादत्तका अनुसार ध्यान सुरु धारणासँगै हुन्छ । सुरुमै विचार शून्य अवस्थामा दिमाग पु्‌ग्न सक्दैन ।

त्यसका लागि हामीले लिने श्वासप्रश्वास क्रियाको गतिमा ध्यान दिनुपर्छ । यो प्रक्रियाले बाहिरी विचार स्वतः कम हुँदै विलिन हुँदै जान्छन् । विचार विलिन जाँदा श्वासप्रश्वासको गतिलाई पनि व्यक्तिले भुल्छ । त्यसलाई पूर्ण ध्यान भनिने उनी बताउँछन् ।

‘ध्यानले विस्तारै व्यक्तिलाई समाधितर्फ लैजान्छ । अर्थात् मनलाई आनन्दतर्फ लैजान्छ । शून्य अवस्थामा मनमा आनन्द र शान्ति अनुभूति हुन थाल्छ,’ उनी भन्छन् ।

ध्यान जति जति गहिरो हुँदै जान्छ, मानिस साक्षी भावमा स्थिर हुन थाल्छ । त्यसमा कुनै पनि भाव, कल्पना तथा विचारका क्षण मात्रले पनि प्रभाव पर्न दिंदैन ।

ध्यानमा इन्द्रिय मनको साथ, मन बुद्धिकोको साथ आफ्नो स्वरूप आत्मामा लीन हुन थाल्छ । सुरुमा अभ्यास गर्दा आँखा बन्द गरेर गर्नु पर्छ । र, अभ्यास हुँदै गएपछि आँखा बन्द होस् वा खुला, साधक आफ्नो स्वरुपको साथ नै जोडिएर रहन्छ ।

र, अन्तमा ऊ साक्षी भावमा स्थिर रहेर कुनै कामलाई पूरा गर्दै पनि ध्यानमा बस्न सक्छ ।

ध्यान कुनै क्रिया हैन

कैयौं सन्त, गुरु तथा महात्मा ध्यानको प्रकारका क्रान्तिकारी विधिहरु बताउने गर्छन् । यद्यपि, उनीहरुले विधि र ध्यानबीच फरक भने कहिल्यै बताउँदैनन् । जबकि क्रिया र ध्यानमा आकाश जमिनको फरक छ । किनकि क्रिया साधना होइन, साध्य हो । केवल एउटा औजार हो ।

त्यसैले त आँखा बन्द गरेर बस्दैमा ध्यान हुँदैन । कुनै मूर्तिलाई स्मरण गर्नु वा माला जप्नु पनि ध्यान हुँदैन । हामी भन्छौं, पाँच मिनेट भगवानको ध्यान गरौं । जबकि यो ध्यान नभएर स्मरण हो । ध्यान त तब गरिन्छ, जब क्रियाबाट मुक्त भइन्छ । विचारबाट मुक्त भइने आचार्य पौडेल बताउँछन् ।

ध्यानको उद्देश्य

वेद, उपनिषद् र गीताका अनुसार ध्यान नै सत्य हो । ध्यानमा सिद्धि पाइसकेपछि व्यक्तिले अनन्त सत्ताको अनुभव गर्छ, यसलाई समाधि भनिन्छ । तमाम गुरु एवं आचार्यले ध्यानको अलग-अलग विधि बनाएका छन् । यद्यपि सबैको उद्देश्य एकै हो, आनन्दको अनुभूति ।

ध्यान विधि

एकै पटकमा ध्यान गर्न सकिंदैन । यो पटक-पटक अभ्यासबाट मात्र सम्भव हुने आचार्य पौडेल बताउँछन् । ‘ध्यानबाट हुने लाभ अनुभूति गर्न नियमित अभ्यासको जरुरी पर्छ । ध्यानमा जान सात्विक जीवनशैली अनिवार्य मानिन्छ,’ उनी भन्छन्, ’प्रतिदिन ध्यानको अभ्यास गरिरहँदा त्यो जीवनशैलीकै एक हिस्सा बन्छ ।’

कति बेर गर्ने ?

ध्यानको अभ्यासका लागि निश्चित समयावधि नै त तोकिएको हुँदैन । तर सुरुवाती चरणमा ध्यान साधना गर्दा १० देखि १५ मिनेट गर्न सकिन्छ । आफ्नो क्षमता अभिवृद्धिपछि बिस्तारै समयावधि बढाउँदै लैजान सकिन्छ ।

निरन्तर दैनिक ध्यान साधना गर्ने साधकहरुले करिब दुईदेखि तीन घण्टासम्म र हाम्रा पूर्वज ऋषिहरुले वर्षौंसम्म ध्यान गर्ने गरेको शास्त्रहरूमा भेटिन्छ ।

ध्यान आडम्बर होइन, विज्ञानसम्मत विधि

ध्यान भन्नासाथ अहिलेका पुस्ताले आडम्बरसँग जोडेर हेर्ने गर्छन् । उनीहरुको बुझाइमा यो ‘धार्मिक क्रिया’ हो, जसको कुनै वैज्ञानिक तर्क छैन ।

यो बुझाइ एकदमै गलत हो । ध्यान शरीर विज्ञानसँग जोडिएको विषय हो । यो विज्ञानसम्मत रहेको विज्ञहरू दाबी गर्छन् । ध्यानबारे भएका वैज्ञानिक अध्ययनले पनि स्वास्थ्यको लागि बहुउपयोगी बताएको छ । अध्ययनअनुसार ध्यानले कैयौं रोगलाई रोक्न मद्दत गर्छ । भावनालाई सन्तुलित राख्छ ।

शारीरिक र मानसिक रुपले कुनै पनि कार्य गर्दा प्रदर्शनमा सुधार गर्छ । विज्ञहरुले ध्यानले मानसिक सन्तुलनमा पनि राम्रो गर्ने भन्दै अहिले माइन्डफुलनेस जस्ता प्रविधि मिसाएर ध्यानको उपयोग गरेका छन् ।

हार्वर्ड विश्वविद्यालयको जर्नरलमा प्रकाशित एक आलेख अनुसार विश्वभर नै ध्यान कक्षाहरू सञ्चालन गरी डिप्रेसन, एन्जाइटी र चिन्ताजस्ता मनो समस्यामा यो अभ्यास प्रभावकारी मानिएको छ । अन्तर्राष्ट्रिय जर्नल नेसनल लाइब्रेरी अफ साइन्समा विभिन्न अध्ययनले हर्मोन सन्तुलनमा ल्याउने, मानसिक स्वास्थ्यमा सुधार ल्याउने र कोषिकाहरुमा ऊर्जा दिने उल्लेख गरिएको छ ।

शरीर स्वस्थ रहन शरीरको हर्मोन सन्तुलनमा रहनुपर्छ । हर्मोनको उत्पादन, घटबढ शरीरको आवश्यकता अनुसार भएमा शरीर स्वस्थ रहन्छ । दैनिक केही समय ध्यान गर्नाले हर्मोनको स्तर सन्तुलनमा ल्याउँछ । शरीरको प्रत्येक कोषिका ऊर्जाले भरिन्छ ।

कोषिकामा ऊर्जा भर्दा भावदशा वा व्यवहार राम्रो बनाउने सेरोटोनिक हर्मोन उत्पादन गर्छ । जसले मनमा प्रसन्नता, शान्ति र उत्साहको सञ्चार हुन्छ । ध्यानले रक्तचाप नियन्त्रण गर्छ । तनावजन्य समस्या हटाउँछ । रोगप्रतिरोधात्मक क्षमतामा सुधार आउँछ । ऊर्जाको आन्तरिक स्रोतमा उन्नति हुने भएकाले ऊर्जा स्तरमा वृद्धि हुन्छ ।

मानसिक फाइदा

‘खाली दिमाग सैतानको घर’ भन्ने भनाइ नै छ । जब काम छैन । समय यत्तिकै बितिरहेको छ भने व्यग्र, अस्थिर र भावनात्मक रुपले दुःख दिन्छ । यस्तोमा दैनिकीमा ध्यानलाई जोड्‌ने हो भने यसले दिमागलाई विश्राम दिन्छ । शान्तिको अनुभूति गराउँछ ।

तनाव कम

ध्यानले मस्तिष्कमा कोर्टिसोल हर्मोन र मुटुको दरमा वृद्धि गर्छ । जसले सुताइको लयदेखि रक्तचापको स्तरमा सुधार गर्छ ।

मस्तिष्कमा करोडौं न्युरोट्रान्समिटर र कोष हुन्छन् । यिनीहरुले एकअर्कालाई संकेत पठाउन विद्युतीय र रासायनिक संकेतहरू प्रयोग गर्छन् ।

एउटा न्युरोनले मात्र आफनै नेटवर्कमार्फत अन्य हजारौंलाई जोड्‌ने सामर्थ्‌य राख्छ । ती सञ्जालले मस्तिष्कको विभिन्न क्षेत्र बनाउँछन्, जसमा शरीरलाई चलाउने छुट्टै विभिन्न कार्य र विशेषता छन् ।

कतिपय अध्ययन अनुसार नियमित रूपमा ध्यान गर्ने व्यक्तिमा ध्यानले गर्ने लयले ती स्नायुको क्षमता बलियो पार्छ । दिमागको संरचनालाई पोषण दिन्छ । एकबाट अर्को न्युरोमा गई शरीरलाई स्वचालित राख्ने सञ्जाललाई तगडा ध्यानले राख्छ ।

यसको मतलब नियमित रूपमा ध्यान गर्ने व्यक्तिहरूको दिमाग स्वस्थ हुन्छ । उनीहरुले सोच्ने, देख्ने, निर्णय गर्ने क्षमता बलियो पार्छ । उमेर ढल्किंदै गएपछि उमेर सम्बन्धित कार्यमा कमी देखाउने सम्भावना कम हुन्छ । डर, क्रोध र शोक जस्ता नकारात्मक भावनासँग सामना गर्ने शक्ति ध्यानले दिन्छ ।

सम्बन्धित खबर

टस जितेर नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल

टस जितेर नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल

महिला त्रिकोणात्मक टी–२० सिरिजको पाँचौँ खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गरिरहेको छ। टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ७ ओभरको खेल सकिँदा…
सुनचाँदीको मूल्य बुधबार पनि बढ्यो

सुनचाँदीको मूल्य बुधबार पनि बढ्यो

सुनको भाउ तोलामा २२ सय रुपैयाँ बढेको छ । बुधबार नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ६६…
रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित

रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित भएका छन् । लामिछानेको मुद्दा चितवन जिल्ला अदालतका न्यायाधीश…

Leave a Reply

Your email address will not be published. Required fields are marked *