काठमाडौं — दैनिक आहारमा फलफूलको समावेशले स्वास्थ्यलाई सन्तुलित राख्न महत्वपूर्ण भूमिका खेल्ने गर्दछ। तीमध्ये कालो अंगुर पनि अत्यन्त लाभदायक फलका रूपमा चिनिन्छ। यसको नियमित सेवनले शरीरलाई आवश्यक पोषण प्रदान गर्नुका साथै विभिन्न स्वास्थ्य समस्याबाट जोगाउन मद्दत गर्छ।
विशेषज्ञहरूका अनुसार कालो अंगुरमा पाइने पोषक तत्वहरूले रुघाखोकीबाट राहत दिलाउन सहयोग गर्ने र छालालाई स्वस्थ तथा आकर्षक बनाउन मद्दत गर्ने गर्दछ।
यसमा रहेको फ्लेवेनोइड्स र एसपिरिनजस्ता तत्वहरूले मुटुको स्वास्थ्य सुधार गर्न सहयोग पुर्याउने, रगत जम्न नदिने तथा हृदयघातको जोखिम कम गर्ने बताइएको छ।
त्यसैगरी, कालो अंगुरले शरीरमा कोलेस्ट्रोलको मात्रा नियन्त्रणमा राख्न सहयोग गर्ने र तौल घटाउन समेत उपयोगी हुने देखिएको छ।
यसको सेवनले यूरिक एसिडको स्तर सन्तुलनमा राख्न मद्दत गर्ने भएकाले मिर्गौला सम्बन्धी समस्याबाट जोगिन पनि उपयोगी मानिन्छ।
स्वास्थ्य विज्ञहरूका अनुसार नियमित रूपमा कालो अंगुर सेवन गर्दा क्यान्सरजस्ता गम्भीर रोगको जोखिम कम गर्न समेत सहयोग पुग्न सक्छ।
कालो अंगुरमा प्रशस्त मात्रामा ग्लुकोज पाइने भएकाले यसले शरीरमा ऊर्जा वृद्धि गर्ने, पाचन प्रणाली सुदृढ बनाउने तथा आँखा, कपाल र छालाको सौन्दर्य बढाउन सहयोग पुर्याउने विश्वास गरिएको छ।
यसरी, स्वादिलो मात्र नभई पोषणले भरिपूर्ण कालो अंगुरलाई दैनिक आहारमा समावेश गर्नु स्वास्थ्यका लागि लाभदायक हुन सक्छ।