सुर्खेत — दैलेखका एक विद्यार्थीको जापानमा निधन भएपछि उनको शव नेपाल ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। सरकारी पहल र सरोकारवाला निकायको सक्रियतापछि शव स्वदेश ल्याउने तयारी अघि बढेको हो।
आठबिस नगरपालिका–३, छेवाडीका शेर बहादुर सिजपती अध्ययनका लागि जापान गएका थिए। त्यहाँ अध्ययनरत अवस्थामै उनको असामयिक निधन भएपछि शव नेपाल ल्याउन आर्थिक अभाव र प्रक्रियागत जटिलताले परिवार समस्यामा परेको थियो।
यसैबीच द काउन्सिल अफ जेन जेड कर्णाली प्रदेशको पहलपछि विषयले प्राथमिकता पाएको हो। परिषद्का कर्णाली प्रदेश संयोजक प्रकाश खड्काले परिवारको कमजोर आर्थिक अवस्थालाई ध्यानमा राख्दै सरकारसँग सहयोगको अपील गरेका थिए।
त्यसपछि परराष्ट्र मन्त्रालयले सक्रियता देखाउँदै जापानस्थित नेपाली दूतावाससँग समन्वय थालेको जनाएको छ। मन्त्रालयका अनुसार शव ल्याउन लाग्ने खर्च व्यवस्थापन तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्ने काम तीव्र रूपमा अघि बढाइएको छ।
हाल सिजपतीको शव जापानमै रहेको र आवश्यक प्रक्रिया पूरा गरी छिट्टै नेपाल पठाउने अन्तिम तयारी भइरहेको बताइएको छ।
परिषद्ले प्रवासमा रहेका नेपाली नागरिकका हकहितको संरक्षण गर्दै यस्ता आकस्मिक अवस्थामा राज्यले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएको छ। शव नेपाल आइपुगेपछि परिवारलाई जिम्मा लगाई स्थानीय स्तरमा अन्तिम संस्कारको व्यवस्था गरिने जनाइएको छ।