- फाल्गुन २५, २०८२
- No Comment
- 27
क्षयरोग के हो? यसका लक्षण तथा रोगथामका उपायहरु
क्षयरोग (टिबी) एक सरुवा रोग हो, जसले विशेषगरी फोक्सोलाई असर गर्ने गर्दछ। यो रोग माइक्रोब्याक्टेरियम ट्युबरकुलोसिस नामक ब्याक्टेरियाको संक्रमणबाट हुने गर्छ। संक्रमित व्यक्तिको सम्पर्कमा आउँदा, विशेष गरी हावा मार्फत खोक्दा वा हाच्छ्युँ गर्दा, यो रोग सर्न सक्ने स्वास्थ्य विज्ञहरू बताउँछन्।
स्वास्थ्यकर्मीका अनुसार दुई हप्ताभन्दा बढी समय लगातार खोकी लाग्नु, खोकीसँगै खकारमा रगत देखिनु, हल्का ज्वरो आउनु, कमजोरी महसुस हुनु तथा तौल घट्नु क्षयरोगका प्रमुख लक्षण हुन्। यस्ता लक्षण देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा जाँच गराउनुपर्ने सुझाव दिइएको छ।
राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार नेपालमा प्रत्येक वर्ष करिब ६९ हजारभन्दा बढी नयाँ क्षयरोगका बिरामी थपिने गरेका छन्। हाल देशभर नयाँ र पुराना गरी करिब १ लाख १७ हजार बिरामी रहेको अनुमान गरिएको छ। गत आर्थिक वर्षमा भने १ लाख ५५ हजार ३ सयभन्दा बढी बिरामी पहिचान भई राष्ट्रिय क्षयरोग कार्यक्रमअन्तर्गत उपचारमा रहेका छन्।
क्षयरोग प्रिभिलेन्स सर्वेक्षणअनुसार नेपालमा करिब ९ प्रतिशत बिरामीको निदान निजी स्वास्थ्य संस्थाबाट हुने गरेको छ भने लगभग १५ प्रतिशत बिरामीले निजी स्वास्थ्य संस्थाबाट उपचार गराउने गरेका छन्। यस्ता बिरामीलाई स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीभित्र ल्याउने प्रयास भइरहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
नेपालमा क्षयरोगका कारण मृत्यु हुने दर विश्वको औसतभन्दा उच्च रहेको देखिन्छ। विश्वमा औसतमा १५ प्रतिशत क्षयरोगीको मृत्यु हुने गरे पनि नेपालमा करिब २५ प्रतिशत बिरामीको मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ। सन् २०१६ सम्ममा मात्र करिब ६ हजार बिरामीको क्षयरोगका कारण मृत्यु भएको थियो।
देशभर सन् २००१ देखि प्रत्यक्ष निगरानीमा औषधि सेवन गराइने डट्स प्रणाली लागू भए पनि बिरामीको पहिचान, परीक्षण तथा उपचार व्यवस्थापनमा अझै चुनौती देखिएको स्वास्थ्यकर्मीहरूले बताएका छन्।
क्षयरोगका प्रमुख लक्षण
क्षयरोग लागेपछि सुरुवाती अवस्थामा थोरै काम गर्दा पनि थकान महसुस हुनु, कमजोरी बढ्नु, रुघाखोकी लागिरहनु तथा ज्वरो आउनु जस्ता समस्या देखिन्छन्। लगातार दुई हप्ताभन्दा बढी खोकी लागिरहनु, राति धेरै पसिना आउनु, खान मन नलाग्नु, तौल घट्नु तथा खकारमा रगत देखिनु यसका गम्भीर संकेत हुन्। यस्तो अवस्थामा तुरुन्तै चिकित्सकसँग सम्पर्क गर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ।
रोकथाम र नियन्त्रणका उपाय
स्वास्थ्य विज्ञहरूका अनुसार क्षयरोग रोकथामका लागि सूर्ति तथा सुर्तीजन्य पदार्थ सेवन नगर्ने, अत्यधिक मदिरा र लागुपदार्थ प्रयोग नगर्ने, शिशुलाई जन्मेपछि समयमै बीसीजी खोप लगाउने तथा दुई हप्ताभन्दा बढी खोकी लागेमा तुरुन्त स्वास्थ्य संस्थामा जाँच गराउनुपर्ने हुन्छ।
त्यस्तै चिकित्सकको सल्लाहअनुसार ६ देखि ८ महिनासम्म नियमित रूपमा निःशुल्क औषधि सेवन गर्नु, उपचार अवधिभर स्वास्थ्य परीक्षण गरिरहनु तथा पौष्टिक आहार सेवन गर्नु पनि अत्यन्त महत्वपूर्ण मानिन्छ।
हरेक वर्ष मार्च २४ मा विश्वभर अन्तर्राष्ट्रिय क्षयरोग दिवस मनाइने गरिन्छ। नेपालमा पनि “संकेत समयको, क्षयरोगको अन्त्य” भन्ने मूल नारासहित विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदै आएको छ। स्वास्थ्य अधिकारीहरूले क्षयरोग नियन्त्रणका लागि समयमै परीक्षण, नियमित उपचार र जनचेतना अभिवृद्धि अपरिहार्य रहेको बताएका छन्।