खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौं, २० फागुन । मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै सरकारले खाडी क्षेत्रमा रहेका नेपाली नागरिकको विवरण संकलन गर्न सुरु गरेको छ। यसका लागि परराष्ट्र मन्त्रालय ले विशेष अनलाइन पोर्टल सञ्चालनमा ल्याएको जनाएको छ।

उक्त पोर्टलको प्रचारप्रसार र समन्वयका लागि खाडी क्षेत्रस्थित नेपाली दूतावासहरू सक्रिय भएका छन्। नेपाली दूतावास रियाद ले सूचना जारी गर्दै साउदी अरेबियामा रहेका नेपाली श्रमिक तथा अन्य नागरिकलाई अनिवार्य रूपमा आफ्नो विवरण दर्ता गर्न आग्रह गरेको छ।

दूतावासका अनुसार नेपाली नागरिकको वर्तमान अवस्थाबारे जानकारी संकलन गरी आवश्यक परेमा समन्वय र सहयोग पुर्‍याउने उद्देश्यले पोर्टल सञ्चालनमा ल्याइएको हो। परराष्ट्र मन्त्रालयले तयार पारेको उक्त पोर्टलमार्फत साउदी अरेबियायमन मा रहेका नेपालीको विवरण संकलन गरिने जनाइएको छ।

यसैबीच, विभिन्न राजनीतिक दलसम्बद्ध प्रवासी संघसंस्थाहरूले पनि आपतकालीन सहयोगका लागि सम्पर्क व्यक्ति तोकेको जानकारी दिएका छन्। उनीहरूले आवश्यक परे समन्वय र उद्धारका कार्यमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

सरकारले खाडी क्षेत्रमा रहेका नेपालीलाई आधिकारिक माध्यममार्फत आफ्नो विवरण उपलब्ध गराई सुरक्षित रहन र आवश्यक सूचना समयमै प्राप्त गर्न आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *