काठमाडौं। अमेरिकाको पूर्वी तटीय क्षेत्रमा परेको भारी हिमपातले जनजीवन कष्टकर बनाएको छ। प्रतिकूल मौसमका कारण पाँच हजार ६ सयभन्दा बढी उडान रद्द भएका छन् भने ६ लाखभन्दा बढी घर तथा व्यवसायहरूमा विद्युत आपूर्ति अवरुद्ध भएको छ।
अमेरिकाको राष्ट्रिय मौसम सेवाका अनुसार रोड आइल्यान्ड र म्यासाचुसेट्सका केही क्षेत्रमा अहिलेसम्मकै ठूलो हिमपात भएको छ जहाँ ३३ इन्च (९० सेन्टिमिटरभन्दा बढी) हिउँ जमेको छ। यो हिमपातले सन् १९७८ को रेकर्ड समेत तोडेको बताइएको छ।
न्युयोर्कको सेन्ट्रल पार्कमा १९ इन्चभन्दा बढी हिउँ परेको जानकारी दिइएको छ, जसका कारण न्युयोर्क राज्यले यात्रालाई अत्यन्तै जोखिमपूर्ण भन्दै चेतावनी जारी गरेको छ। बाक्लो हिउँ र कडा हावाका कारण सडकमा सवारी साधन चलाउन निकै कठिन भएकोले केहि क्षेत्रमा पूर्ण रूपमा यातायात रोकेको छ।
भीषण आँधी र भारी हिमपातका कारण न्युजर्सी, म्यासाचुसेट्स लगायत पूर्वी तटीय राज्यहरूमा ६ लाखभन्दा बढी घर तथा व्यवसायहरूमा विद्युत आपूर्ति बन्द भएको छ। यसबारे जानकारी दिन म्यासाचुसेट्सकी गभर्नर मौरा हेलीले दक्षिण–पूर्वी क्षेत्रमा अत्यावश्यक बाहेकका सबै यात्रामा प्रतिबन्ध लगाउँदै मानिसहरूलाई सुरक्षित रहन आग्रह गरेकी छन्।
हवाई यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको छ। न्युयोर्कको ला गार्डिया विमानस्थलबाट हुने करिब ९८% र जेएफके अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने ९१% उडानहरू रद्द भएका छन्।
मौसमविद्हरूले भनेका छन् कि हिमपात अझै मंगलबार बिहानसम्म जारी रहने सम्भावना रहेको र तटीय इलाकाहरूमा थप १ देखि २ फिट (३०–६० सेन्टिमिटर) हिउँ जम्ने जोखिम रहेको छ। उत्तर क्यारोलिनादेखि मेन राज्यसम्म मौसम चेतावनी जारी गरिएको छ।
भीषण हिमपातका कारण सार्वजनिक यातायात, उडान सेवा, विद्युत आपूर्ति र दैनिक जनजीवन सबैमा ठूलो प्रभाव परेको छ। स्थानीय अधिकारीहरूले नागरिकहरूलाई सुरक्षित स्थानमा रहन र अनावश्यक यात्रा नगर्न आह्वान गरेका छन्।