- माघ २५, २०८२
- No Comment
- 12
विश्वकपबाटै राष्ट्रिय टिममा शेर मल्लको डेब्यु
मुम्बई । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले इङ्ल्यान्डविरुद्ध पहिला बलिङ गर्ने भएको छ। भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा इङ्ल्यान्डका कप्तान ह्यारी ब्रुकले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन्।
दुई पटकको विश्व च्याम्पियन इङ्ल्यान्डसँग खेल्दै नेपालले यसपटकको टी–२० विश्वकप यात्रा सुरु गर्न लागेको हो। नेपाल यसअघि सन् २०१४ मा बंगलादेश र सन् २०२४ मा अमेरिकामा सम्पन्न विश्वकपमा सहभागी भएको थियो। तर दुवै संस्करणमा समूह चरण पार गर्न भने सकेको थिएन।
आजको खेलमार्फत मिस्ट्री स्पिनर शेर मल्लले आईसीसी टी–२० विश्वकपबाटै नेपालको सिनियर राष्ट्रिय टिममा डेब्यु गरेका छन्। विश्वकपजस्तो ठूलो प्रतियोगिताबाट राष्ट्रिय टिममा डेब्यु गर्नु शेर मल्लका लागि विशेष उपलब्धि मानिएको छ।
कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुल्शन झा, करण केसी, शेर मल्ल, नन्दन यादव र सन्दीप लामिछाने।
फिल साल्ट, जस बट्लर, ज्याकब बेथेल, टम ब्यान्टन, ह्यारी ब्रुक, विल ज्याक्स, साम करान, लियाम डसन, आदिल राशिद, जोफ्रा आर्चर र लुक वूड।
टी–२० विश्वकपमा नेपाल समूह ‘सी’ मा रहेको छ। यस समूहमा नेपालसहित इङ्ल्यान्ड, वेस्ट इण्डिज, स्कटल्यान्ड र इटाली छन्।
नेपालले विश्वकपको पहिलो खेलमै बलियो इङ्ल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्दै आत्मविश्वासका साथ प्रतियोगिताको सुरुवात गर्ने लक्ष्य लिएको छ।