
सुर्खेत, साउन १९— मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेतको लेकवेशी नगरपालिका–३ खारपानीमा इभी गाडी दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
वीरेन्द्रनगरबाट बोटेचौरतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज १०२३ नम्बरको इभी गाडी गंगामाला सामुदायिक वनअगाडि अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा जाजरकोटको छेडागाड नगरपालिका–११ निवासी १७ वर्षीया पवित्रा थापा र चिङ्गाड गाउँपालिका–१ निवासी ३४ वर्षीया सुनिता घर्ती मगर घाइते भएका छन्। दुवैको अवस्था सामान्य रहेको र थप उपचारका लागि मेहेलकुना अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।



