
दैलेखको भगवतीमाई गाउँपालिकामा दुई जना बालिका मृत अवस्थामा फेला परेका छन्। गाउँपालिकाको वडा नम्बर ४ स्थित मनघर भन्ने स्थान नजिकैको जङ्गलमा १३ र १४ वर्षीया दुई बालिका एकै ठाउँमा मृत भेटिएका हुन्।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार मृतक बालिकाहरू आपसमा मामा-फुपूका छोरीहरू (दिदी-बहिनी) हुन्। गएराति एउटै घरमा रहेका उनीहरू कतिबेला बाहिर निस्किए भन्ने खुल्न सकेको छैन। बिहान घरभन्दा केही टाढा रहेको जङ्गलमा दुवै जनाको शव एकै ठाउँमा भेटिएको हो।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी पुष्पराज रोकायका अनुसार घटनाबारे विस्तृत जानकारी लिन र सत्यतथ्य पत्ता लगाउन प्रहरी टोली परिचालन गरी सूक्ष्म अनुसन्धान भइरहेको छ। घटनाको प्रकृति र मृत्युको कारणबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।



