
जाजरकोट, साउन १२ – जाजरकोटको भेरी नगरपालिका–६ स्थित भैरव सामुदायिक वन क्षेत्रमा अवैध रूपमा हरियो सल्लाको रुख काटिरहेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार साउन ६ गते साँझ प्रहरी सहायक निरीक्षक कविराम जैसीको कमाण्डमा खटिएको गस्ती टोलीले स्थानीय २९ वर्षीय चन्द्र प्रकाश वि.क.लाई हरियो सल्लाको रुख काटी गोलिया बनाइरहेको अवस्थामा काठ काट्ने आरा मेसिनसहित नियन्त्रणमा लिएको हो।
घटनापछि डिभिजन वन कार्यालय जाजरकोटसँग समन्वय गरी वन प्राविधिक टोलीले नापजाँच गर्दा बरामद गरिएको सल्लाको काठ ११७ क्यूबिक फिट रहेको र यसको अनुमानित मूल्य करिब रु. ३० हजार रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।
बरामद गरिएको काठ, आरा मेसिन तथा पक्राउ परेका चन्द्र प्रकाश वि.क.लाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय जाजरकोटको जिम्मा लगाइएको छ।



