
भारतको उत्तराखण्डस्थित धौलीगंगा जलविद्युत् आयोजनाको बाँधको ढोका खोल्न लागिएकोले दार्चुलाका तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ। आयोजनाले बाँधको सरसफाइका लागि यही साउन १३ गते बुधबार बिहान ६:०० बजेदेखि साउन १४ गते बिहीबार साँझ ६:०० बजेसम्म बाँधका ढोकाहरू खोल्ने जानकारी दिएको छ। यस अवधिमा महाकाली नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने भएकाले नदी किनारका बासिन्दा तथा सर्वसाधारणलाई सुरक्षित रहन र नदी तटीय क्षेत्रमा नजान जिल्ला प्रशासन कार्यालय दार्चुलाले विशेष अपिल गरेको छ। हरेक वर्ष नियमित सरसफाइका नाममा बाँध खोलिँदा सीमा क्षेत्रमा जोखिम बढ्ने भएकाले स्थानीय प्रशासनले पूर्वसूचना जारी गर्दै सावधानी अपनाउन जोड दिँदै आएको छ।



