
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१२, चनौटेबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा ४१ वर्षीय हिमाल थापालाई शंकास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा उनको साथबाट ५ ग्राम ६९० मिलिग्राम तौल बराबरको लागुऔषध ब्राउन सुगर बरामद गरेको हो। पछिल्लो समय कर्णाली प्रदेशमा लागुऔषधको अवैध कारोबार र प्रयोग बढ्दो देखिएपछि प्रहरीले सक्रियता बढाएको छ। पक्राउ परेका थापालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको र लागुऔषध ओसारपसारमा संलग्न अन्य गिरोहको खोजी भइरहेको प्रहरीले जनाएको छ।



