
सुर्खेतको सिम्ता गाउँपालिका–४ बालिखोलास्थित छिन्चु–जाजरकोट सडक खण्डमा सिमेन्ट बोकेको जिप दुर्घटनाग्रस्त भएको छ। छिन्चुबाट जाजरकोटको छेडागाड नगरपालिका–८ तर्फ जाँदै गरेको क.प्र.०२००१ च.१०५० नम्बरको डबल क्याप बोलेरो जिप गएराति अन्दाजी १ बजे अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको हो। घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय बादेपिपलबाट प्रहरी सहायक निरीक्षक टेकबहादुर ऐरीको कमाण्डमा खटिएको आठ जनाको टोलीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ। जिप धनी सुरेन्द्र बस्नेतका अनुसार दुर्घटनापछि चालक सुर्खेत भेरीगंगा नगरपालिका–२ निवासी अन्दाजी २४–२५ वर्षीय जयबहादुर बस्नेत फरार रहेका छन्। प्रहरीको प्रारम्भिक अनुसन्धानमा सवारी साधनमा चालकबाहेक अन्य कोही पनि सवार नरहेको खुलेको छ। हाल फरार चालकको खोजी कार्य जारी रहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



