
कपिलवस्तुको महाराजगञ्ज नगरपालिका-२ गैडहवा चोक नजिकै बुधबार बिहान भएको हृदयविदारक सडक दुर्घटनामा तीन जनाको ज्यान गएको छ। बहादुरगञ्जबाट तौलिहवातर्फ जाँदै गरेको ना २ ख २३६४ नम्बरको मदिरा बोकेको तीव्र गतिको ट्रकले पैदलयात्री र साइकलयात्रीलाई ठक्कर दिँदा सो दुःखद घटना घटेको हो। दुर्घटनामा ज्यान गुमाउनेहरूमा १२ वर्षीय आनन्द कश्यप, ७५ वर्षीय भोलई कुर्मी र ४५ वर्षीय विजयकुमार गुप्ता रहेका छन्। गम्भीर घाइते अवस्थामा कपिलवस्तु अस्पताल पुर्याइएका उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका थिए। अहिले सो क्षेत्रमा तनाव बढेपछि आक्रोशित स्थानीयले सडक अवरुद्ध गरेका छन् भने घटनाको थप अनुसन्धानका लागि ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। थप सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।



