
सुनसरीमा हालै भएको दुःखद घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहले गहिरो चिन्ता व्यक्त गर्दै आम नागरिकलाई संयम र सामाजिक सद्भाव कायम राख्न विशेष अपिल गरेका छन्। घटनामा ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रधानमन्त्री शाहले पीडित परिवारलाई न्याय र उचित क्षतिपूर्ति दिलाउने प्रतिबद्धता जनाएका छन्। सुरक्षाकर्मीको गोली लागेर नागरिकको ज्यान गएको र घाइते भएको विषयलाई सरकारले अत्यन्त गम्भीरताका साथ लिएको बताउँदै उनले यसको विस्तृत अनुसन्धान भइरहेको र दोषी जो कोही भए पनि कानुनको दायरामा ल्याएर कडा कारबाही गरिने स्पष्ट पारेका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले भनेका छन्, 'मान्छेको पहिलो धर्म मान्छे जोगाउनु हो,' तसर्थ नागरिकको सुरक्षा र न्याय सुनिश्चित गर्नु सरकारको उच्च प्राथमिकता रहेको छ। उनले आम नागरिकलाई आक्रोश वा उत्तेजनामा नआउन आग्रह गर्दै प्रेम, आपसी सम्मान र सामाजिक एकतालाई बलियो बनाउन आह्वान गरेका छन्। सुनसरी घटनाले सिर्जना गरेको त्रासदीपूर्ण वातावरणलाई शान्त पार्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन सरकारले ठोस निर्णय र आवश्यक कदमहरू चाल्न सुरु गरिसकेको जानकारी पनि उनले दिएका छन्।



