
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल सरकारले नवप्रवर्तनको विकास र प्रवर्द्धनका लागि नवप्रवर्तकहरूलाई आवश्यक सहयोग गर्ने नीति अघि बढाउन लागेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले कार्यविधिसहित ऐन तयार गरी लागू गर्ने तयारी गरिरहेको जानकारी दिएका छन् ।
उनका अनुसार सरकारले नवप्रवर्तकहरूलाई उनीहरूले प्रयोग गर्ने कुनै पनि उपयोगी वस्तु वा सेवाको नमूना विकास गर्न सहयोग गर्नेछ । त्यसैगरी सफल भएका नमूनालाई बजारमा लैजान सकिने उत्पादनको रूपमा विकास गर्न आवश्यक सहजीकरण गरिनेछ ।
मन्त्री पुनले सम्भावना देखिएका वस्तु वा सेवाका लागि पेटेन्ट, प्रतिलिपि अधिकार र ट्रेडमार्क जस्ता बौद्धिक सम्पत्तिको अधिकार नवप्रवर्तकले प्राप्त गर्ने व्यवस्था मिलाइने पनि बताएका छन् ।
यस्तै, नवप्रवर्तक र लगानीकर्ताबीच समन्वय गराई व्यावसायीकरणको प्रक्रिया अघि बढाइने तथा सरकारले त्यसका लागि आवश्यक सहुलियत उपलब्ध गराउने उनले उल्लेख गरेका छन् ।
उनले लगानीकर्ताहरूले उत्पादन गरेका नयाँ–नयाँ वस्तु तथा सेवाको प्रवद्र्धन र बजारीकरणमा समेत सरकारले सहयोग गर्ने नीति लिइने बताएका छन् ।



