
सनातन वैदिक परम्परामा विशेष महत्त्व बोकेको हरिशयनी एकादशी आज देशभर श्रद्धापूर्वक मनाइँदै छ। आषाढ शुक्ल एकादशीका दिन आज घर-घरका तुलसी मोठमा विशेष पूजा-आराधनासहित तुलसीको बिरुवा सारिँदै छ। एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन विधिपूर्वक रोपिएको तुलसीको दललाई आज मोठमा सारिने परम्परा छ। भगवान विष्णुको प्रतीकका रूपमा मानिने तुलसीको आजदेखि सुरु भएको विशेष पूजा चार महिनासम्म अर्थात् कार्तिक शुक्ल एकादशीसम्म निरन्तर चल्ने गर्दछ। चतुर्मासको सुरुवात मानिने यस दिनदेखि तुलसीको मोठमा नित्य पूजा गरी श्रद्धा र भक्तिका साथ विशेष अनुष्ठान गरिन्छ, जसले सनातन धर्मालम्बीहरूको सांस्कृतिक र आध्यात्मिक जीवनमा निकै ठूलो महत्त्व राख्दछ।



