
सर्लाहीमा सेवाग्राहीसँग घुस लिएको अभियोगमा भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले उनीहरूलाई कार्यालय प्रमुखको क्वाटरबाटै सात लाख ५० हजार रुपियाँ घुससहित रङ्गेहात नियन्त्रणमा लिएको हो। बोरिङ र मोटर जडान सम्पन्न भएपछि बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीलाई हैरानी दिई घुस मागेको उजुरीका आधारमा अख्तियारले कारबाही अघि बढाएको हो। पक्राउ परेका दुवै जनाको साथबाट घुस रकमका अतिरिक्त स्रोत नखुलेको थप ७१ हजार एक सय १५ रुपियाँ र तीनवटा मोबाइल सेट समेत बरामद गरिएको अख्तियारले जनाएको छ। भ्रष्टाचार नियन्त्रणमा सरकारी निकायहरू नै चनाखो हुन नसकिरहेको अवस्थामा सार्वजनिक पदमा बसेका व्यक्तिहरूबाटै भइरहेका यस्ता गतिविधिले सेवा प्रवाहको शुद्धतामाथि गम्भीर प्रश्न उब्जाएको छ। हाल पक्राउ परेका दुवै जनाविरुद्ध अख्तियारले थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।



