
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार मिति २०८३ साल असोज १५ गते अन्यत्र जिल्लाबाट आवश्यक कागजात बिना अवैध रूपमा १६ वटा गाई/गोरु डोल्पा तर्फ ल्याउँदै गरेको अवस्थामा दुई जनालाई नियन्त्रणमा लिइएको छ। इलाका प्रहरी चौकी त्रिपुराकोट डोल्पाबाट खटिएको प्रहरी टोलीले त्रिपुरासुन्दरी नगरपालिका वडा नं. १ चुँ गार्ड नजिकैबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा जिल्ला जाजरकोट नलगाड नगरपालिका वडा नं. १२ बस्ने ३६ वर्षका ओगवीर बिक र सोही ठाउँ निवासी अन्दाजी ४२ वर्षका हर्क बहादुर बिक रहेका छन्। नियन्त्रणमा लिइएका पशुपन्छीसहित दुवै जनालाई आवश्यक कारबाहीका लागि पशु अस्पताल तथा पशु सेवा कार्यालय दुनै, डोल्पामा पठाइएको प्रहरी निरीक्षक पदम रावलले बताएका छन् ।

