
काठमाडौं, साउन २१ — पत्रकारको परिचयपत्र बोकेर लागुऔषध खैरो हेरोइन ओसारपसार गर्दै आएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरोको शाखा कार्यालय बर्दिबासबाट खटिएको टोलीले बुधबार सिन्धुलीको दुधौली नगरपालिका–९ बाट बा.१६ च ७८४६ नम्बरको कारसहित तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सिरहाको लक्ष्मीपुरका २६ वर्षीय उमेश कुमार यादव, लहान नगरपालिका–१० का ३० वर्षीय रमेश कुमार राम र लक्ष्मीपुर गाउँपालिका–२ का २५ वर्षीय गुल्सन प्रसाद साह रहेका छन्।
प्रहरीका अनुसार उनीहरू सिरहाको मिर्चैयाबाट काठमाडौंतर्फ आउँदै गर्दा कारको गियर बक्समा लुकाएर ल्याइएको ४४ ग्राम ३४० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको हो।
कार चालक उमेश यादवको साथबाट 'जनजागरण खबर' नामको पत्रकार परिचयपत्र समेत फेला परेको छ। प्रहरीका अनुसार उक्त कार हुलास फाइनान्सबाट किस्ताबन्दीमा खरिद गरिएको खुलेको छ।
घटनाबारे इलाका प्रहरी कार्यालय डकाहा, सिन्धुलीले थप अनुसन्धान अघि बढाएको छ।



