
काठमाडौँ उपत्यकामा भारतबाट लागु औषध खैरो हेरोइन ल्याई बिक्री वितरण गर्ने गिरोहविरुद्धको कारबाहीका क्रममा लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक फरार प्रतिवादी र एक भारतीय महिला रहेका छन्।
ब्यूरोको टोलीले असोज १३ गते काठमाडौँको चन्द्रागिरी नगरपालिका-७ सतुङ्गलबाट लमजुङ बेसीशहर नगरपालिका-२ ठेगाना भएका २७ वर्षीय विक्रम गुरुङलाई पक्राउ गरेको हो। उनको साथबाट २८ ग्राम ५०० मिलिग्राम खैरो हेरोइन र नगद रु. ७ लाख बरामद भएको थियो।
गुरुङमाथि गरिएको थप अनुसन्धानका क्रममा भारतको सिलगुढीबाट काठमाडौँमा खैरो हेरोइन ल्याएर आपूर्ति गर्ने भारत पश्चिम बंगाल ठेगाना भएकी ५० वर्षीया प्रिया भुजेललाई असोज १४ गते चन्द्रागिरी-१२ बाट १८२ ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, पक्राउ परेका विक्रम गुरुङ यसअघि २०८१ असोज २ गते २९४ ग्राम ३०० मिलिग्राम खैरो हेरोइन मुद्दासम्बन्धी कारबाहीका क्रममा जगन्नाथ देवल कारागारमा थुनामा रहेका थिए र उनी जेन्जी आन्दोलनको क्रममा कारागारबाट फरार भएका थिए।
ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीले पक्राउ परेका दुवै जनामाथि लागु औषध मुद्दामा थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।


